व्यवसाय : जताततै सटर खाली

काठमाडौँ । अहिले काठमाडौँमा जताततै सटर खाली देखिन थालेका छन् । बजारका मुख्य-मुख्य  व्यापारिक स्थानमा यसअघि सटर खाली भएको देखिँदैनथ्यो । काठमाडौँमा सटर त परैको कुरो कोठा पाउन समेत हम्मे हम्मे पर्थ्यो तर अहिले भने प्रमुख बजारमा नै ४-५ घर छाडेर सटरहरू खाली देख्न सकिन्छ ।

व्यापारमा निराशाको अवस्था छ । यस्तो अप्ठेरो अवस्थामा व्यवसायबाटै पलायन हुनेहरू बढ्दैछन् । यसले देशको चरम आर्थिक संकटको अवस्था दर्साउँछ । पछिल्लो समय काठमाडौँ उपत्यकामा पसल बेच्नेहरूको सङ्ख्या पनि बढ्दै गएको छ । चल्दै आएका पसलमा ग्राहक आउन छाडेपछि भाडा तिर्ने पैसा समेत नहुने गरेको गुनासो व्यापारीहरू गर्छन् । योसँगै पसल नै बन्द गरेर सम्पर्कविहीन हुनेहरूको सङ्ख्या पनि बढ्दै गएको छ । विगतमा यस्ता पसल र सटरहरू पाउन धौ÷धौ हुने गर्थ्यो तर अहिले पसल किन्ने मान्छे नपाएर व्यवसाय यत्तिकै छाडेर हिँड्नेहरूको सङ्ख्या बढ्दैछ ।

नयाँवानेश्वरमा कपडा पसल गर्दै आएकी सरु केसी पछिल्लो समय व्यवसाय गर्नेहरू निराश भएको बताउँछिन् । उनको पसलमा लाखौँका लत्ताकपडा यत्तिकै थुप्रिएका छन् । दिनभरिमा १-२ जना ग्राहकले मात्रै सामान किन्ने गरेको उनी बताउँछिन् । पहिले दिनमा २०-२५ हजारसम्मको व्यापार हुने गरेको तर अहिले मानिसहरू पसलमा पस्दै नपस्ने गरेको भन्छिन् । ‘कोरोनाभन्दा अगाडि पसलमा ग्राहकको थामी नसक्नुको भीड लाग्थ्यो तर अहिले माखा मारेर बस्नु परेको छ ।’ उनी गुनासो गर्छिन् ।

कोरोनापछि व्यापार÷व्यवसाय सुस्ताएको छ । मानिसहरूसँग आम्दानी कम भएर क्रयशक्ति हराउँदै गएको छ । नयाँवर्षको सुरुवातमा राम्रो व्यवसाय हुने अपेक्षा गरिएपनि व्यापारीहरू निराश देखिएका छन् । काठमाडौँमा मलहरूमा ग्राहकहरू आक्कल-झुक्कल देखिन्छन् । सुन्धारा मलमा ग्राहकहरूको सङ्ख्या अतिनै कम देखिन्छ । त्यस्तै नयाँवानेश्वरको आइप्लेक्स मलमा सिनेमा हेर्नेहरूको सङ्ख्या देखिएपनि पसलहरूमा किनमेल गर्नेहरू निकै कम देखिए । कस्मेटिक पसल सञ्चालन गर्दै आएका एक व्यवसायी भन्छन्, ‘केही मानिसहरू आउँछन् । सौन्दर्य सामग्री हेर्छन् । अनि नकिनी फर्कन्छन् । १० जनाले मूल्य सोध्छन्, ती मध्ये १ वा २ जनाले मात्रै खरिद गर्छन् । यसरी कसरी व्यापार हुन्छ ?’ उनी भन्छन् ।

पछिल्लो समय दरबारमार्गको सडकमा काठमाडौँ महानगरपालिकाले पार्किङ बन्द गराएपछि व्यवसाय न्यून भएको व्यापारीहरू बताउँछन् । ती ठाउँमा खाली स्पेस भेटिँदैनथ्यो तर अहिले भने कोठाभाडामा भनेर बोर्डहरू झुण्डिएका छन् । आजभोलि मलमा किनमेल गर्न जाने मान्छे घटेका छन् । त्यस्तै साना व्यवसायीको व्यवसाय पनि नराम्ररी घटेको छ । चोक-चोकमा साना पसलहरूमा पनि ग्राहकहरूको चाप देखिँदैन ।

केही समय पहिले व्यापारिक भवनहरू तयार नहुँदै भाडा अग्रिम भुक्तानी गरेरै बुकिङ लिने गरिन्थ्यो तर अहिले बनिसकेका भवनहरू पनि महिनौँदेखि खाली छन् । नयाँ बानेश्वरको अल्फाबिटा भवनसँगको ठूलो व्यावसायिक भवनले ‘टु–लेट’को बोर्ड झुण्ड्याएको धेरै समय बितिसकेको छ । अहिले व्यस्त चोक आसपासकै क्षेत्रमा ‘भाडा’ का सूचना बोर्डहरू देख्न सकिन्छ ।

केही कपडा पसलहरूमा हामीले गरेको अध्ययनमा पसल चलाइरहेका अधिकांश व्यवसायी सोचेजस्तो मूल्य पाए पसल छाड्ने मनस्थितिमा छन् । पहिले आम्दानी राम्रो हुने भएका कारण व्यापार-व्यवसायप्रतिको आकर्षण थियो तर अहिले चलाइरहेका पसल बेचेरै भएपनि विदेश जाने सोच धेरैमा देखियो । बैंकले ऋण दिँदैन । दिइहालेपनि ब्याजदर चर्को छ । कतिपय स्थानमा त भाडा नतिरी व्यापारी सम्पर्कविहीन भएका छन् । भाडा पनि नपाएको गुनासो गर्दै प्रहरीकहाँ पुगेर सटर खाली गराइदिन आग्रह गर्ने घरधनीको सङ्ख्या बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा उद्योग क्षेत्रमा देखिएको शिथिलताको असर व्यापार व्यवसायसम्म आइपुगेको छ । यो वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रले ५.३२ प्रतिशत मात्रै योगदान दिने प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । चर्को ब्याजदरका कारण पनि धेरैजसो ब्यवसायीलाई अप्ठेरो आइलागेको हो । उता सामानको आयात महँगो भएकाले पनि व्यापारीलाई समस्या परेको छ । यस्तै अवस्था रहिरहने हो भने व्यसायीहरु पलायन भएर जाने निश्चित छ । यसका लागि सरकार, सम्बन्धित निकाय जिम्मेवार हुन आवश्यक छ ।

  • नवीन सन्देशबाट 
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री