दैनिक उपभोग्य बस्तुमा अचाक्ली मूल्य वृद्धि : केमा कति वढ्यो ?

काठमाडाैं । चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ। व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन्। यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ । भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ।

हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ । सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लखेका छन्। थोक व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेका हुन् । चाडपर्वको मुखमै मूल्यवृद्धि गरेर उनीहरूले मौकाको फाइदा उठाउन खोजेका छन् । तर व्यापारीले बाहिरबाट आयात गर्ने सामानमा डलरको विनिमय दर बढेकाले सामानको भाउ बढेको दाबी गरे।

ढुवानी खर्च वृद्धि भएको, आन्तरिक उत्पादनमा कमी आएको र उत्पादन हुने मौसम सकिएकाले तरकारीजन्य वस्तुको मूल्य बढेको अर्का थरी व्यापारीको तर्क छ । महँगीको पहिलो असर भान्सामा परेको छ। भान्सामा साँझ बिहान पाक्ने हरियो तरकारीमा औसतमा १५ देखि २० प्रतिशत मूल्य बढाइएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार यो वर्ष अत्यधिक वर्षाका कारण राजधानीछेउका जिल्लामा उत्पादन कम भएको जनाएको छ । त्यही कारण बजारभाउ बढेको उसको दाबी छ।

राजधानीमा खपत हुने कूल तरकारीमध्ये झण्डै ६० प्रतिशत धादिङ, काभ्रे, मकवानपुर र ललितपुरबाट आउने गर्छ । यो वर्ष ती जिल्लाबाट त्योभन्दा कम आपूर्ति भएको बताइएको छ । ‘माग बढी र आपूर्ति कम हुँदा स्वाभाविक रूपमा वस्तुको मूल्यवृद्धि हुन्छ,’ महासंघ अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘हरियो तरकारीमा त्यही भएको हो ।’ तरकारीमा प्रतिकिलो १० देखि १५ रूपैयाँ वृद्धि भएको छ।

तरकारीमा आलु, परवल तथा लहरेबाली अन्तर्गत बोडी, सिमी, घिरौंला, करेला, लौंका, सिमी, भिण्डी, परवल तथा काउलीको मूल्य अकासिएको छ । आलु केही सिमित स्थानबाट मात्रै बजार भित्रिएको छ । पुराना आलु करिब सकिएको छ। आलु प्रतिकिलोमा १० रूपैयाँ मूल्य बढेको छ । ‘भारत, भुटान र बंगलादेशमै अहिले आलुको मूल्य अचाक्ली वृद्धि भएको छ,’ घिमिरेले भने, ‘आयात गर्दा डलरमा कारोबार गर्नुपर्छ । डलरको विनिमय दर पनि अकासिँदै गएकाले मूल्यवृद्धि भएको हो।’

चालु आर्थिक वर्षदेखि सरकारले कृषिजन्य वस्तुको आयात गर्दा भन्सार शुल्क पाँच प्रतिशत बढाएर १० प्रतिशत पु¥याएको छ । सरकारले सार्वजनिक सवारी भाडामा १० प्रतिशत वृद्धि गरेका कारण पनि ढुवानी खर्च बढेको व्यापारीको दाबी छ। थोकमा प्रतिकिलो ३५ रूपैयाँमा पाइने आलुको मूल्य ४५ पुगेको छ । गोलभेंडाको मूल्य पनि नपत्याउने गरी अकासिएको छ । गोलभेंडा ‘अफ सिजन’ भएकाले मागअनुसार आपूर्ति नभएको हो । अघिल्लो साता ४५ रूपैयाँमा पाइने गोलभेंडा ७५ रूपैयाँमा पुगेको छ।

६० रूपैयाँ प्रतिकिलोको बोडी ८० पुगेको छ । ७० रूपैयाँको सिमी ९० मा पुगेको छ । लौका ३० रूपैयाँ पाइन्थ्यो, दोब्बर बढेर ६० भएको छ । घिरौला र भिन्डी, परवलको मूल्य बढेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले चाडपर्वको मुखमा आएर व्यापारीले मूल्य वृद्धि गरेको स्वीकार गरे । उनले केही व्यापारीले आफूखुशी मूल्य बढाएको र केहीले प्रक्रियागत कारणले बढाएको बताए।

खाद्यान्नमा पनि वृद्धि
दैनिक खाद्यवस्तुमध्ये चामल, खानेतेल, मैदा, आटामा पनि बजारभाउ बढेको छ । चामल प्रतिबोरा ५० रूपैयाँ वृद्धि भएको छ। खाने तेलमा प्रतिलिटर १० रूपैयाँ बढेको छ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले थोक आयात गर्दा डलरको विनिमय दरको वृद्धिले खाद्यान्नको मूल्य बढाएको दाबी गरे । उनकाअनुसार सोयाबिन, तोरी र सनफ्लावर तेलको पनि मूल्य बढेको छ।

एक सय ३० रूपैयाँ प्रतिलिटर पाइने सोयाबिन तेल एक सय ४० देखि एक सय ४५ पुगेको छ । एक सय ४० रूपैयाँ पर्ने तोरीको तेल एक सय ५० देखि एक सय ६० पुगेको छ। एक सय ३० को सनफ्लावर तेल एक सय ५० देखि एक सय ५५ रूपैयाँ पुगेको छ । प्रतिकिलो ४८ रूपैयाँमा बिक्री हुने मैदा ५५ पुगेको छ । मैदाको मूल्यवृद्धिले त्यसैबाट बन्ने बिस्कुट, पाउरोटी, केकजस्ता पदार्थको मूल्य पनि अस्वाभाविक बढेको छ । ४५ रूपैयाँको आटा ५० पुगेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस