नेपालमा पनि मनाइयो सेल्फी विथ डटर दिवस

काठमाडौं– छोरीलाई सफल बनाउन र अगाडि बढ्नको लागि समान अधिकार र अवसरहरू सिर्जना गर्न सधै तयार रहनु पर्छ भन्ने सन्देशसहित तेस्रो ‘सेल्फी विथ डटर डे’ नेपालमा पनि मनाइएको छ । उक्त दिवसको तेस्रो वार्षिकोत्सवको अवसरमा नेपाल इन्टरनेट फाउन्डेसनले काठमाडौंमा एक कार्यक्रम नै आयोजना गरेको छ ।

फाउन्डेसनले लैङ्गिक समानता र विशेष गरी अपाङ्गता भएका सबै छोरीहरूको सशक्तिकरणमा सधैँ जोड दिएको जनाएको छ । उसका अनुसार नेपालमा पनि सेल्फी विथ डटर अभियान सफल भएको छ । सेल्फी विथ डटर ह्यासट्यागमा टिकटकमा राखिएका भिडियोलाई मात्रै १८ मिलियन भन्दा बढी भ्युज प्राप्त भएका छन् । छोरीलाई सफल बनाउन र अगाडि बढ्नको लागि समान अधिकार र अवसरहरू सिर्जना गर्न सधै तयार रहेको समेत फाउन्डेसनले जनाएको छ ।

नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले आयोजना गरेको उक्त कार्यक्रममा एनआईएफका अध्यक्ष विक्रम श्रेष्ठ, सेल्फी विथ डटरकी नेपालका संयोजक कल्पना श्रेष्ठ, विशिष्ट अतिथि, छात्राहरू लगायतको उपस्थिति रहेको थियो । भारतबाट प्रारम्भ भएको सेल्फी विथ डटर अभियान नेपालमा तीन वर्षअघि जुन ९ का दिन प्रारम्भ भएको थियो । भारतमा पनि एक कार्यक्रम गर्दै सेल्फी विथ डटर दिवस मनाइएको छ ।

विश्वकर्मा स्किल युनिभर्सिटीले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा हरियानाका मुख्यमन्त्री मनोहर लाल प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो । यसबाहेक सेल्फी विथ डटर अभियानका सुरूवातकर्ता सनिल जगलानको समेत उपस्थिति थियो । नेपालबाट पनि ९० भन्दा बढी व्यक्ति तथा संस्थाको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि हरियाणाका मुख्यमन्त्री मनोहर लालले छोरीहरूलाई छोराको समान व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले अपाङ्गता भएका छोरीहरुलाई पनि समाजमा सफल हुन समान अवसर दिनुपर्ने उनले बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विक्रम श्रेष्ठले लैङ्गिक समानताको मूल्यलाई जोड दिँदै छोरीहरूलाई आफ्ना आकांक्षाहरू पछ्याउन र सबै मानिसहरूलाई न्यायोचित व्यवहारको लागि लड्न आग्रह गरे । सुनिल जगलानले अपाङ्गता भएका छोरीहरूलाई समावेश गर्न जोड दिदै सहभागीहरूलाई उनीहरूको माया र समर्थन देखाउन उनीहरूसँग सेल्फी खिच्न आग्रह गरेका थिए । कार्यक्रममा सेल्फी विथ द डटर अवार्ड–२०२३ रिदम शर्मालाई प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा ‘बेटी बचाउ र बेटी पढाउ’ अभियानको सन्देशमुलक भिडियो समेत प्रस्तुत गरिएको थियो । HVC गुरुग्राम विश्वविद्यालयका प्रोफेसर दिनेश कुमार, HVC IILM का प्रोफेसर सुजाता शाही, ईस्ट वेस्ट अटोमेसन टेक्नोलोजीका एमडी अरविन्द कौल, रुप अटोमोटिभका एमडी मोहित ओसवाल, हीरो मोटोकर्पका एचआर हेड धर्मरक्षित, डा. सीके गरियाली, सेवानिवृत्त आईएएस र अम्बा वाटलले छोरीहरूको राम्रो भविष्य सिर्जना गर्न सामूहिक प्रयासको महत्वलाई जोड दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री