काठमाडौं । रास्वपा सांसद शिशिर खनालले भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैँसी चढेर स्वदेश फर्किएको बताएपछि संसद्मा हङ्गामा भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी दिए । यसपछि प्रश्नोत्तर कार्यक्रमअनुसार रास्वपा सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आउँदा पोखरा विमानस्थलमा अवतरण गर्नुहोला भनेको त भैँसी चढेर आउनु परेको भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । उनले अमर्यादित शब्द रेकर्डबाट हटाउन माग गरे ।
यसपछि एमालेसहितका सांसदहरू उठेर विरोध जनाए । यसपछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले एकअर्काविरुद्ध हुटिङको शैलीमा प्रस्तुत भए । सभामुख देवराज घिमिरेले ‘भैँसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिए । यसपछि सत्तापक्षका सांसदले टेबुल ठोकेर स्वागत गरे ।




