काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक हत्यारा र छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेको नागरिक संघर्ष समितिले धर्ना फिर्ता लिएको छ । उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेसँगै समितिले धर्ना फिर्ता लिएको हो ।
नेपालीहरुको महान चाड दशैँ आएकाले कार्तिक ७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएको नागरिक संघर्ष समितिले जनाएको छ । मिना भण्डारी नेतृत्वको संघर्ष समितिले उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै असोज १३ गतेदेखि महेन्द्रनगरको मदन चोकमा धर्ना शुरु गरेका थिए ।
मङ्गलवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापन पत्र बुझाउँदै प्रतिवेदनमा उल्लेख भएका व्यक्तिमाथि थप अनुसन्धान गर्न माग गरिएको छ । यसअघि संघर्ष समितिले निर्मलाको वास्तविक हत्यारा पहिचान गरी कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै महेन्द्रनगरमा प्रर्दशन पनि गरेको थियो ।
महेन्द्रनगरकी अगुवा हेलन श्रेष्ठ नेतृत्वको दवावमूलक संघर्ष समितिले पनि २१ असोजदेखि ७ कार्तिकसम्म आन्दोलन फिर्ता लिएको छ । भीमदत्त नगरपालिका २ कि निर्मला पन्तको गत साउन ११ गते उखुवारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। घटना भएको दुई महिना भन्दा बढी भइ सक्दा पनि हत्यारा पहिचान हुन सकेको छैन ।
प्रतिकृया दिनुहॊस