काठमाडौँ । प्रतिनिधि सभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ । छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्मा प्रस्तुत गरेका थिए । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ भने सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ ।
यसैबीच आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टिप्पणी गर्ने भएका छन् । सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै ओलीले यसको विरोध बताइएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने बताएका छन् । उनले आफ्ना सांसद्हरुलाई पनि सरकारको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन दिइसकेका छन् । ‘मुलुकलाई सही दिशा दिनका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा हो, स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ,’ ओलीले शनिबार बसेको संसदीय दलको बैठकमा भनेका थिए ।




