काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
‘नेपाल एयरलाइन्सले भैरहवा-मलेसिया र मलेसिया-भैरहवा-काठमाडौँ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, सो अवसरमा मलेसिया-भैरहवा-काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ’, निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उनका अनुसार मलेसिया-भैरहवाका लागि १२ हजार सात सय र मलेसिया-भैरहवा-काठमाडौँका लागि १४ हजार सात सय २० भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस (यात्रु ओसार पसार गर्ने बस) को व्यवस्था गर्ने उनको भनाइ छ ।
निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट हाल निगमले साताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।




