काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले शरणार्थी प्रकरणमा संलग्न देखिएका कसैलाई पनि बचाउ गर्न नहुने बताएका हुन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग गरे । थापाले अनुसन्धानमा पार्टी जोडिनु नहुने बताउँदै दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्नेमा जोड दिए । महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गरे ।
उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेल स्वतः निलम्बनमा पर्ने बताए । उनले पार्टीको बैठकमा यसबारे छलफल भएपनि केही नेताहरूले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले त्यसलाई तोडेर भएपनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने उनको भनाइ थियो । उनले पार्टीका नेताहरू भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गरे ।




