काठमाडौं । केही वर्ष अगाडी राजधानी प्रहरीको टाउको दुखाइको विषय बनेको ‘चेन स्न्याचिङ’ सिक्री लुटपाट गर्ने गिरोह फेरी राजधानीमा सल्बलाउन थालेको पाइएको छ । मंगलबार बिहान आफ्नो छोरालाई स्कुल पुर्याएर फर्किदै गरेको एक महिलाको डेढ तोलाको सिक्री लुटपाट भएपछि गिरोह सल्बलाउन थालेको रहस्य खुलासा भएको हो ।
चार पाँच वर्ष अगाडी उपत्यकामा दिनकै ८/१० ठाउँमा ‘चेन स्न्याचिङ’ हुने गरेको थियो । मोटरसाइकलको नम्बर परिवर्तन गरी गिरोहले यस्ता धन्दा चलाएका थिए । अहिले त्यही शैलीमा मंगलबार बिहान बौद्धमा सिक्री लुटिएको हो । यस विषयमा बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लुटेराको मोटरसाइकल नम्बर खुले पनि नम्बर परिवर्तन भएको कारण प्रहरी गिरोहसम्म पुग्न भने सकेको छैन । हुलिया पहिचान भइसकेकोले लुटेराहरू प्रहरीको फन्दाबाट उम्कन नसक्ने अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।
केही वर्ष अगाडी महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कार्यरत प्रहरी हवल्दार सीता उप्रेतीले लगाएको २ तोलाको सिक्री बालाजुबाट यही शैलीमा लुटपाट भएको थियो । त्यही ताका पैदलयात्री मीना तुलाधरले लगाएको झण्डै ७ तोलाको सिक्री लुटेर गिरोह फरार भएका थिए ।




