सरकारी वकिल र अदालतको चक्कर काट्दै ‘भिआइपीहरू’

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा राज्यका उपल्लो तहका राजनीतिज्ञ र प्रशासकहरू प्रहरी हिरासतमा छन् । प्रकरणमा जोडिएका तत्कालीन उपपप्रधानमन्त्री, गृहमन्त्री र बहालवाला सचिव प्रहरी हिरासत छन् । हालसम्म पक्राउ परेका १३ जनामध्ये पूर्वउपप्रधानमन्त्री टोपहादुर रायमाझी, पूर्वगृहमनत्री बालकृष्ण खाँण र बहालवाला सचिव टेकनारायण पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरू फरक-फरक मितिमा पक्राउ परेका हुन् ।

उनीहरूसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई पनि हिरासतमा छन् । उनी पनि उच्च पदस्थ राजनीतिज्ञ हुन् । हिरासतमा रहेका उनीहरूको दिनचर्या नै फेरिएको छ । ‘भिआइपी’हरू सरकारी वकिलको कार्यालय र जिल्ला अदालत काठमाडौंमा चक्कर काटिरहेका छन् । बयान दिन र म्याद थप गर्न उनीहरूलाई वकिलको कार्यालय र जिल्ला अदालतमा ल्याउने र लैजाने काम भइरहेको छ । सत्ता र शक्तिमा रहँदा अघिपछि देखिने समर्थकको भिड अहिले छैन ।

उनीहरूका अघिपछि प्रहरी तैनाथ छन् । कुनै बेला उनीहरूलाई देख्नेबित्तिकै तनक्क तन्किएर सलाम ठोक्ने प्रहरीहरू अहिले डो¥याएर हिँडिरहेका छन् । कुनै श्रद्धा र सम्मान भाव छैन । मानव तस्करीको जालोमा संलग्न सम्भावित अपराधीहरूलाई उनीहरूले केरकार गरिरहेका छन् ।

प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री खाँणसहित तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डेसमेत हिरासतमा छन् । यस्तै, नरेन्द्र केसी, सन्दीप रायमाझी, सागर राई, रामशरण केसी, गोविन्द चौधरी, सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङ पनि प्रहरी हिरासतमा छन् ।

प्रकरणमा जोडिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी मात्र फरार छन् । यस्तै, प्रकरणमा नाम जोडिएकी खाँण पत्नी मन्जु भने सम्पर्कविहीन हुनुहुन्छ । –हिमालय टाइम्सबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री