काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिइने भएको छ । सोमबारबाट बयान लिन सुरु गरिएका उनको आज थप बयान लिन लागिएको हो ।
सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने, ‘मंगलबार पनि उहाँको बयान हुनेछ ।’ प्रकरणमा मुछिएपछि खाँणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमबारबाटमात्रै उनको बयान सुरु गरिएको थियो ।
यसैबीच पूर्व उपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सोमबार राति अबेरसम्म बयान लिइएको छ । आइतबार साँझ बुढानीलकण्ठबाट पक्राउ परेका उनको बयान सोमबार थालेर त्यही दिन अबेरसम्म दिइएको हो । अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ भने सोही दिन अदालत हाजिर गराउनेछ ।
रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको सङ्ख्या १३ पुगेको छ । अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।




