काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् ।
उनीहरूले दिउँसो ३ बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्ति गरेका छन् ।
उनीहरू तीनै जना नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका हुन । तीन जनामध्ये स्वास्थ्यमन्त्री बस्नेत यसअघि पनि मन्त्री भइसकेका हुन् भने कांग्रेस उपसभापति गुरुङ र नेता लिम्बू पहिलो पटक मन्त्री बनेका हुन् ।
गत पुस ११ गते गठित मौजुदा मन्त्रीपरिषद्मा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




