काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनलाई बुटवलबाट पक्राउ गरेको हो ।
बुधबार साँझ पक्राउ परेका सन्दीपलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए । उनलाई आज काठमाडौं ल्याउने तयारी गरिएको छ । पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । उनी पनि अब जुनसुकै बेला पक्राउ पर्न सक्छन् ।
यसअघि बुधबार नै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । मंगलबार एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहका इन्द्रजित राई पक्राउ परेका थिए ।
पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, इन्द्रजित राईका छोरा निरजलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ । उनीहरू हाल फरार छन् ।




