आमालाई लिन जाँदै थिए, तुइनबाट खसेर महाकालीमै बिलाए भण्डारी

काठमाडौं । दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । शनिबार दिउँसो बेपत्ता भएका ब्यास गाउँपालिका-२ तल्लो दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारीको शव फेला परेको हो ।

महाकाली नदी पारी भारततर्फ उनको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका एसपी श्याम चौधरीले जानकारी दिए । आधा घण्टाको दुरीमा सिङ्दलसिंहको शव फेला परेको उनले बताए । उनका अनुसार महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किँदै थिइन् ।

उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू-भाग धारचुला हुँदै घर फर्किँदै थिइन् । नेपालतर्फ सडक सुविधा नहुँदा सो ठाउँका स्थानीय भारतीय सडक प्रयोग गर्दै वारपार हुने गर्दछन् । ‘जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएको जानकारीमा आएको छ’, एसपी चौधरीले भने, ‘तुइन प्रयोग गर्ने क्रममा उनी महाकालीमा बगेको आशंका गरिएको छ ।’

सिङ्दलसिंहको शव भारतीय भू-भागमा फेला परेको हो। सोही कारण भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताइएको छ । मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेकी छन् । उनकी श्रीमतीको भने चार वर्ष अघि निधन भएको थियो । सीमा क्षेत्रमा रहेको महाकाली नदीमा यसअघि पनि मानिसहरू खसेर दुर्घटना हुने गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री