काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरू संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न जुटेका छन् । टीआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने विषयमा सहमति जुटाउन अहिले प्रधानमन्त्रीसहितका शीर्ष नेताहरू छलफलमा जुटिरहेका हुन् ।
सभामुख देवराज घिमिरेको निवासमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत दलका सचेतकहरूबीच टीआरसी विधेयक पारित गर्ने विषयमा छलफल भइरहेको हो ।
यसअघि शनिबार पनि सभामुख घिमिरेसहित प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा ठोस सहमति भने जुट्न सकेको थिएन ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद्मा दर्ता भएको संक्रमणकालीन विधेयक छोटो प्रक्रियाबाट पारित गर्नुपर्ने र त्यसमा एमालेको सहयोग आवश्यक रहेको प्रस्ताव गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले भने सो विधेयक छोटो प्रक्रियाबाट पारित गराउन सहयोग गर्न नसकिने अडान लिए ।
सरकारले ल्याएको विधेयकमा पीडितले न्याय नपाउने भन्दै अन्य सरोकारवालाहरूले विधेयकप्रति आपत्ति जनाइरहेका छन् । एमालेले पनि छोटो प्रक्रियाबाट पारित गर्न असहयोग गर्ने देखिएको छ । जसका कारण माओवादी द्वन्द्वका पीडितहरूले कहिले न्याय पाउने भन्ने विषय पेचिलो बन्दै गएको छ ।




