काठमाडौँ । नेपाली कांग्रेसले बारा २ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बन्ने भएका उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
१० वैशाखमा हुने उक्त निर्वाचनमा कांग्रेसले सत्ता गठबन्धनमा रहेको दल जसपाका अध्यक्ष समेत रहेका यादवलाई सघाउने भएो हो ।
४ मंसिरको चुनावमा सप्तरी २ बाट उम्मेदवार बनेका यादवलाई जनमत पार्टीका अध्यक्ष समेत रहेको चन्द्रकान्त राउतले हराएका थिए । बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यावदलाई जसपाले उपराष्ट्रपति बनाएपछि रिक्त भएको स्थानमा उपेन्द्रले चुनाव उठेर संसद प्रवेश गर्ने योजना बनाएका हुन् ।
तर, उपन्द्रलाई संसद प्रवेशबाट रोक्न जनमत पार्टीले भने पहिला माओवादीबाट सोही क्षेत्रमा चुनाव हारेका शिवचन्द्र कुशवाहालाई पार्टीमा ल्याएर उम्मेदवार बनाउन लागेको छ ।
उपेन्द्र यादवलाई नै गठबन्धनका अन्य दलले समेत समर्थन गर्ने भएपछि जनमत पार्टीले सरकार समेत छोडेर बाहिरिइसकेको छ ।
त्यस्तै, उक्त क्षेत्रमा लोसपाले राजेन्द्र महतोलाई उम्मेदवारको रुपमा अघि सारेको छ । रास्वपाले रमेश खरेललाई उम्मेदवार बन्न टिकट दिइसकेको छ । एमालेले भने यस क्षेत्रमा निर्णय लिइसकेको छैन ।




