काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो सुझावअनुसार नै मिटरब्याज पीडित बालुवाटार गएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
खुलामञ्चको विषयमा अनावश्यक ऊर्जा खर्चिन भन्दा समस्या समाधानको लागि बालुवाटार जानु सुझाव दिएको उनको भनाई छ । ‘काठमाडौँ महानगरले उहाँहरूको सुरक्षित बसाइका लागि अन्यत्र सुरक्षित स्थानमा बसोबासको विकल्प दिइएको हो । तर उहाँहरूले खुलामञ्च भन्दा अन्य विकल्पहरू मान्न तयार हुनु भएन,ड मेयर बालेनले अगाडि भनेका छन्, ‘खुलामञ्चको विषयमा अनावश्यक ऊर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिए पछि उहाँहरू बालुवाटारतिर लाग्नु भएको छ ।’
उनले माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शङ्कास्पद भएको बताए । ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौँ वा वर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो । यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ,’ बालेनले भनेका छन् ।
उनले पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले सङ्घीयतामाथि निर्मम प्रश्न गरिरहेको बताए । पीडितहरूको यो अवस्थाले गाउँ गाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको उल्लेख गर्दै उनले सङ्घीय सरकारलाई पीडा सम्बोधनका लागि अतिशीघ्र चासो दिन आग्रह गरे ।




