काठमाडौँ । बाह्र दिन हिँडेर काठमाडौँ पुगेका मिटरब्याज पीडितहरूलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऐक्यबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास नजिक बालुवाटारमा धर्नामा रहेका पीडितहरूलाई भेटेर रविले आफू पीडितहरूको पक्षमा रहेको बताएका हुन् ।
लामिछानेले समस्या समाधानको पहल गर्ने आश्वासन दिए । ‘म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ,’ लामिछानेले भने, ‘आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता हुँदैछ । त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईँहरूको समस्याका बारेमा जानकारी गराउँछु ।’
लामिछानेले मिटर ब्याजपीडितको समस्या कानुनी उपचारबाट सम्भव नरहेको पनि बताएका छन् । साहुहरूले अनेक किसिमका झुटा कागजपत्र तयार गरेकाले पीडितले अदालतबाट न्याय पाउन नसक्ने उनको भनाइ थियो । उनीहरूको माग सम्बोधन गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा उनको जोड थियो ।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताएका छन् । उनले आफ्नो पार्टी पीडितहरूको साथमा सदैव रहेको पनि बताए । उनले भने, ‘हामी यसबाट लाभ लिन होइन, तपाईँहरूको साथमा हामी छौँ ।’




