पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्यो : अध्यक्ष बस्नेत

काठमाडौँ  । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढेको बताएका छन् । काउन्सिल नेपालले नियमितरूपमा सञ्चालन गर्दै आएको अभिमुखीकरणको २२औँ शृङ्खलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

अनलाइन सञ्चारमाध्यममा समाचारलाई विश्वसनीय र सन्तुलित बनाउन पत्रकार आचारसंहिता कार्यान्वयन गर्नुपर्ने अध्यक्ष बस्नेतको भनाई छ । ‘अनलाइन सञ्चारमाध्यम विश्वसनीय र सन्तुलित बन्न सकेका छैनन्,’ उनले भने, ‘अनलाइन सञ्चारमाध्यमको सङ्ख्या वृद्धि भएको छ । तर स्रोत, साधन र व्यवस्थापनमा अभाव कायम छ ।’

उनका अनुसार पत्रकारिता अध्ययन गरेका भन्दा बाहिरका व्यक्ति आमसञ्चारमाध्यमको सञ्चालनमा आबद्ध हुने क्रम बढेको हो । त्यसकारण पनि पत्रकार आचारसंहिता र निर्देशिकासम्बन्धी अभिमुखीकरण कार्यक्रम आवश्यक भएको अध्यक्ष बस्नेतको भनाइ छ ।

उनले पत्रकारितामा मेहनत गर्ने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘परिचयपत्र पाइन्छ, ज्याकेट लगाउन पाइन्छ, पहुँच बन्छ भन्ने हिसाबले पनि सञ्चारमाध्यम दर्ता गर्नेको भीड देखिन्छ । त्यस्ता सञ्चारमाध्यमका सञ्चालक सुरुमा धेरै उत्साही हुने तर काम गर्दै जाँदा झारा टार्ने प्रवृत्ति र हुबहु सार्ने प्रवृत्ति देखिएको छ,’ उनले भने  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री