काठमाडाैं । उदयपुरमा १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच किशोरलाई १० वर्ष कैद सजाय तोकिएको छ । जिल्लाको कटारी नगरपालिका वडा नम्बर ४ की बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत उदयपुरले मंगलबार फैसला सुनाएको हो ।
दोषी पाँचै जनाको उमेर १५ देखि १८ वर्षमुनि छ । त्यसमध्ये १६ वर्ष नाघेका चार जनालाई जनही १० वर्ष ६ महिना तथा १६ वर्ष नपुगेका एक जनालाई सात वर्ष कैद सजाय तोकिएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजलासले घटनामा संलग्न पाँचै जनालाई कैद सजायसहित पीडितलाई एकमुस्ट दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
१६ वर्षदेखि माथि १८ वर्ष मुनिकालाई वयस्कलाई हुने सजायको दुई तिहाइ तथा १० वर्षमाथि १६ वर्षमुनिकालाई आधा सजाय हुने कानुनी व्यवस्थाबमोजिम सजाय सुनाइएको अदालतका श्रेस्तेदार रामकुमार आचार्यले जानकारी दिए । दोषी पाँचै जनालाई सुधारगृह पठाउने तयारी भइरहेको अदालतले जनाएको छ ।
२०७४ भदौ १६ गते कटारीस्थित खेल मैदानमा ती पाँच जनासहित ६ जना मिलेर स्थानीय १३ वर्षीया बालिकालाई पालैपालो बलात्कार गरेका थिए । घटनामा संलग्न एक जना भने फरार छन् ।
प्रतिकृया दिनुहॊस