काठमाडौँ । बञ्चरेडाँडा ल्यान्डफिल साइट फोहोर फाल्ने रोकने चेतावनी दिइएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सरोकारवाला निकायलाई पत्र पठाउँदै जेठदेखि फोहोर फाल्न रोक्ने चेतावनी दिएको हो ।
समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा राज्यशक्ति दुरुपयोग गरी फोहरमैला विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकोप्रति विरोध जनाइएको छ । ‘सरकार तथा फोहरमैला विसर्जन गर्ने सबै पक्षले उक्त क्षेत्रको नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक, अधिकार हनन गरेको र आउँदा दिनमा उक्त क्षेत्रको आम नरसंहार हुनसक्ने गम्भीर मामिलामा सरकारी पक्षले सधैँ बेवास्ता गरी राज्य सक्ती दुरुपयोग गरी दमन चक्रद्वारा उपत्यकाको समग्र फोहरमैला विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकोले त्यस्तो घृणित कार्यको हामी घोर विरोध गर्दछौँ,’ पत्रमा भनिएको छ ।
प्रभावित क्षेत्रमा मानववस्ती रहित क्षेत्र कायम गर्न वा फोहरमैला निषेधित क्षेत्र गर्ने भन्नेबारे ठोस धारणा नआए आउँदा जेठ १ गनेदेखि फोहोर फाल्न सदाका लागि रोक्ने चेतावनी दिइएको छ । पत्रमा अगाडि भनिएको छ, ‘प्रभावित क्षेत्रमा मानववस्ती रहित क्षेत्र कायम गर्न वा फोहरमैला निषेधित क्षेत्र गर्ने भन्ने सन्दर्भमा सरकार तथा सम्बद्ध पक्ष स्थानीय निकाय समेतले वैशाख मसान्त भित्र सरकारको त्यस्तो धारणा सहित विश्वास योग्य कार्यान्वयन प्रक्रिया सुरु नगरे स्थानीय नागरिकद्वारा ०८० जेठ १ गतेदेखि उक्त क्षेत्रमा फोहरमैला लैजान सदाका लागी पूर्ण रूपमा रोक लगाइने ब्यहोरा अनुरोध छ ।’





