सगरमाथा आरोहण गर्ने ३५ महिला सम्मानित

काठमाडौं । सगरमाथा आरोहण गर्ने ३५ जना महिलाहरू सम्मानित भएका छन्। नेपाल पर्वतारोहण संघ र सगरमाथा आरोही संघले बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला आरोहीहरूलाई सम्मान गरेको हो।

कार्यक्रममा पर्वतारोहण संघका अध्यक्ष निमा नुरू शेर्पाले आरोहीहरूलाई बधाई दिँदै पर्यटन क्षेत्रमा महिलाहरूको सहभागिता अझै बढाउनुपर्ने बताए।

सन् १९९३ मा पासाङ ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी थिइन्। पछिल्लो पुस्ताले पनि आरोहणलाई लक्ष्य र चाहनाका रूपमा लिएका छन्। पासाङको उक्त सफलता अहिले नेपाली महिलाहरूका लागि मार्गदर्शन मात्र नभई नेपाली इतिहासमै कोसेढुङ्गा साबित भएको छ।

सन् १९९० को दशकपछि नै हिमाल आरोहणमा महिलाहरूको सहभागिता बढेको संघका अध्यक्ष शेर्पा बताउँछन्। ‘विगतमा पर्वतारोहणमा गाइड, पोर्टर सबै पुरूष मात्र हुन्थे,’ उनले भने, ‘अहिले सबैतिर महिलाको सहभागिता बढेको छ। यसलाई अझ बढाउनुपर्छ।’

हाल मुलुकभर १,८०० भन्दा बढी पिकहरू छन्। यसमा चार सय वटा पिक मात्र खुला गरिएको उनले बताए। यसमध्ये २७ वटा पिकलाई पर्वतारोहण संघले प्रर्वद्धन गर्दै आइरहेको छ। सरकारले मुलुक ‍प्राकृतिक स्रोतले धनी भनेर प्रचारप्रसार गरेपनि यी पिकहरूको प्रवर्द्धन गर्न नसकेको उनले गुनासो छ।

उनकाअनुसार कतिपय हिमालहरू आरोहणका लागि खुला गरेपनि प्रवर्द्धन गर्न नसक्दा ओझेलमा परेका छन्। यस्ता हिमालको प्रवर्द्धन गर्दै पर्यटकका लागि नयाँ गन्तव्यहरूको खोजी गर्न सरकारसँग अनुरोध गरे।

‘सरकारले सबै पिकको प्रवर्द्धन गर्नुपर्छ। सरकारले गर्न सक्दैन भने पर्वतारोहण संघलाई जिम्मा दिनुपर्‍यो,’ कार्यक्रममा बोल्दै उनले भने, ‘हामी व्यवस्थापन गर्छौं।’

संघका प्रमुख सल्लाहकार आङ छिरिङ शेर्पाले नयाँ पिकहरू खुलाउन सरकारलाई अनुरोध गरे। हाल नेपालमा एक हजार ७९३ पिक खुलाइएको उनले बताए। तर अझैपनि एक हजार ३८९ पिक खुलाउन सकिएको छैन। पूर्वमा २८ वटा पिक नेपाल र भारतको सिमानामा रहेको र यी पिकलाई खोल्न आवश्यक रहेको उनको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस