काठमाडौँ । आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका सन्दर्भमा मतदातालाई आन्तरिक प्रशिक्षण दिने भएको छ । राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकले आन्तरिक रूपमा फरक ढङ्गले आवश्यक प्रशिक्षण दिने निर्णय गरेसँगै आज प्रशिक्षण दिइने भएको हो ।
गठबन्धनले आफ्ना सांसदहरूलाई बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको छ । यसअघि आज संयुक्त रूपमा प्रशिक्षण दिने कार्यक्रम तय भएपनि मौन अवधिका कारण कार्यक्रम स्थगित गरिएको थियो ।
बिहीबार मतदान हुने भएपछि आज मतदान गर्ने तरिकालगायत विषयमा आन्तरिक रूपमा प्रशिक्षण दिइने जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनकाअनुसार मतदातालाई प्रशिक्षित गर्ने, मत बदर हुन नदिने र समयमै आएर मतदान गर्न समन्वय गर्ने हिसाबले गठबन्धनका सबै दलले प्रशिक्षण दिने भएको हुन् ।
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई भोट हाल्ने सहमति गरेका आठ दलमा भोट क्रस हुनसक्ने डर छ । यसका लागि पार्टी नेतृत्व चनाखो भएर प्रशिक्षण दिने नेताहरूको भनाई छ । राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति चयनका लागि भोलि बिहीबार काठमाडौँमा मतदान हुँदैछ ।




