देउवाले मागे राष्ट्रपतिमा ओलीसँग भोट (पत्रसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् ।  देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका हुन् ।

देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ओली निवास बालकोट पुगेर बुझाएका थिए । पत्रमा देउवाले पौडेलको प्रसंशा गरेका छन् । ‘शालीन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनहुन्छ नै संविधान प्रदत्त संवैधानिक दायित्व राजनैतिक आग्रहहरू भन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छ,’ पत्रमा अगाडि भनिएको छ, ‘संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रूपान्तरण तर्फ गतिशील ढंगले अघिबढ्नु हामी सबैको साझा दायित्व हो ।’

  • हेर्नुहोस् पत्र

श्री केपी शर्मा ओलीजी,
अध्यक्ष, नेकपा एमाले 

बिषय: राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत् प्रतिस्पर्धाका लागि 

यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरूप आ-आफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौँl

लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जित हार मात्र होइन, हामी जान्दछौँl यो अभ्यासले समाजलाई सु-संस्कृत सन्देश दिन सक्नुपर्छl त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु। राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छुl 

राष्ट्रपति केबल एउटा पद नभएर स्वयं आफैँमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौँl यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म बृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सु-संस्कृत अभ्यासको खोजी हुन्छl

विमतिबिच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबिच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छl यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईँ समेतसँग मत माग्नु र विमतिबिचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु l

शालीन, बौद्धिक र सु-संस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरूभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छl

संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रूपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व होl यो दायित्व तपाईँ, हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छुl

जय नेपाल 

शेरबहादुर देउवा 
सभापति, नेपाली कांग्रेस 
०७९ फागुन १५

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । आज उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री