काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि प्रकाशन गरेको मतदाता नामावलीमा प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको नाम थपेको छ । प्रतिनिधि सभा सदस्य चौधरीको नाम थपिएपछि दुवै पदको निर्वाचनमा कुल मतदाताको सङ्ख्या ८८२ पुगेको छ ।
सङ्घीय संसद्को राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाको २७३ र प्रदेश सभाका ५५० जना सदस्य मतदाता हुने छन् । निर्वाचन अधिकृत पौडेलले निर्वाचन आयोगको निर्णयबमोजिम चौधरीको नाम थपिएको बताए । ट्याक्टर आगजनी मुद्दामा पक्राउ परेर निलम्बनमा परेका चौधरीको राष्ट्रपतिबाट सजाय मिनाहा भएपछि निलम्बन फुकुवा भएको थियो ।
संसद् सचिवालयले निलम्बन हटेको पत्र आयोगलाई पठाएपछि उहाँको नाम मतदाता नामावलीमा समेटिएको हो । प्रतिनिधि सभा सदस्य चौधरीले समेत मतदाता नामावलीमा नाम थप्न निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावलीमा दाबी विरोध गर्ने समयभित्र पाँचवटा निवेदन परेको जनाएको छ ।
चार जनाको नाममा त्रुटि देखिएकाले त्रुटि सच्याएर अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन अधिकृत पौडेलका अनुसार सङ्गीता मण्डल धानुक, दुर्गाकुमारी गुरुङ, सरस्वती खड्का र सञ्जुकुमारी चौधरीको नाममा रहेको त्रुटि सच्याइएको हो ।
महोत्तरीमा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महतोको नाम समावेश छ । प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम पक्राउ परेपछि मात्रै सदस्य निलम्बन हुने र निलम्बित सदस्यलाई मतदानको अधिकार नरहने व्यवस्था छ । तर महतो निलम्बित नभएकाले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा सूचीकृत छन् ।
संसद्मा छलफलमा रहेको प्रतिनिधि सभा नियमावली २०७९ मा भने प्रहरीको फरार सूचीमा रहेका सांसद निलम्बन हुने व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन अगावै उक्त नियमावली पारित भई कार्यान्वयनमा आए प्रतिनिधि सभा सदस्य महतोको नाम मतदाता नामावलीमा रहने÷नरहने निर्णय गर्ने अधिकार भने निर्वाचन आयोगमा रहनेछ ।



