पर्यटन मजदुर र व्यवसायीबीच चार बुँदे सहमित

काठमाडाैं । अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रका समस्या समाधान माग गर्दै आन्दोलन घोषणा गरेका पर्यटन मजदुर र सरोकारवालाबीच सहमति भएको छ । आइतबार भएको वार्तामा दुई पक्षबीच चार बुँदे सहमति भएको हो।

कास्कीको टाडापानी क्षेत्रमा पर्यटन व्यवस्थापन समिति तथा पर्यटन व्यवसायीले यही असोज १ गतेदेखि पदयात्रामा जाने नेपाली पथप्रर्दशक र मजदुरले प्रवेशद्वारमै दुई दिनदेखि सात दिनसम्मको खानाको अग्रिम पैसा तिरेर कुपन लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो।

यो नियमले आफूहरू मर्कामा परेको भन्दै पर्यटन मजदुरले यो व्यवस्था असोज १५ गतेसम्म नहटाए पदयात्रामा कोही नजाने र टानलगायत पर्यटनसँग सम्बन्धित संघसंस्थामा तालाबन्दी गर्ने घोषणा गरेका थिए।

मजदुरले दिएका अल्टिमेटमको अघिल्लो दिन गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, टाडापानी पर्यटन व्यवस्थापन समिति, टान पश्चिमाञ्चल क्षेत्रीय समिति, पर्यटन मजदुर संगठन, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटन प्रहरी र टाडापानी होटल व्यवस्थापन समितिबीच सर्वपक्षीय छलफल भई चार बुँदे सहमति भएको हो।

नेपालको पर्यटनको मुख्य सिजन सुरु हुनै लाग्दा पदयात्रा पर्यटन मजदुर आन्दोलनमा उत्रिएपछि समग्र पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने आशंका सर्वपक्षीय सहमतिले अन्त्य गरेको छ। सहमति भएपछि मजदुर आन्दोलन स्थगित भएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले जानकारी दिए।

सम्झौतामा हाल टाडापानी पर्यटन व्यवस्थापन समितिले मजदुरको खानाको रकम अग्रिम उठाउँदै आएकामा असोज २३ गतेबाट होटल तथा लजको काउन्टरमा जुन दिने खाने त्यही दिन खानाको पैसा बुझाउने उल्लेख छ।

त्यस्तै अन्नपूर्ण सर्किट पदयात्रा क्षेत्रमा देखिएका समस्याका सम्बन्धमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको मध्यस्ततामा यथाशीघ्र प्रयास गरी माघ मसान्तभित्र समाधान गर्ने, अन्नपूर्ण र मनास्लु क्षेत्रमा देखिएका समस्या पर्यटन मन्त्रालयको पहलमा समाधान गर्ने, युनिट्राभ गण्डकी प्रदेश र अखिल नेपाल पर्यटन मजदुर संघले घोषणा गरेका सबै आन्दोलन फिर्ता लिने र सुरक्षित, मर्यादित र दिगो पर्यटनमा संयुक्तर रूपमा काम गर्दै बढीभन्दा बढी पर्यटकलाई भ्रमणका लागि स्वागत गर्ने सम्झौता भएको टान पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए।

मजदुरले रोजेको खाना नपाएको र प्रवेशद्वारमै कुपन लिन बाध्य पारेर एकाधिकार लादिएको र खाने रुचि नभए पनि पैसा तिर्नुपर्दा मजदुर मर्कामा परेकाले बाध्य भएर आन्दोलन घोषणा गरेको अखिल नेपाल पर्यटन मजदुर संघ कास्कीका अध्यक्ष धनबहादुर तामाङले बताए। पोखरामा करिब तीन सय पथप्रर्दशक तथा पाँच सयदेखि सात सयसम्म सहयोगी यो क्षेत्रमा कार्यरत छन्। रासस

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भर्जिनिया कार दुर्घटनामा ज्यान गुमाउने दुई नेपालीको परिचय खुल्यो

काठमाडौं । अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको …

प्रतिकृया दिनुहॊस