काठमाडाैं । यस वर्षको मनसुन अबको केही दिनमै सकिने जल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन निस्क्रिय हुने क्रममा रहेकाले अबको केही दिनमै नेपालबाट मनसुन विदा हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए ।
अबको दुई-तीन दिनमै मनसुन सकिएको घोषणा गर्ने तयारीमा मौसमविद्हरु जुटेका छन् । ‘भारतको राजस्थानमा गएको शनिबार नै मनसुन निस्क्रिय भएको औपचारिक घोषणा भइसकेको छ,’ मौसमविद् रिमालले भने, ‘त्यसको प्रभाव नेपालको सुदुरपश्चिम क्षेत्रमा देखिन थालेको छ। यो क्रमशः पूर्वतर्फ सर्दै जान्छ ।’
मनसुन निस्क्रिय भएकाले अब कतै-कतै छिटपुट वर्षा भए पनि ठूलो पानी पर्ने संभावन नभएको उनले बताए । यस वर्षको मनसुन गएको २५ जेठमा नेपाल भित्रिएको थियो । नेपालमा सामान्यतया जुन १० मा भित्रिने मनसुन सेप्टेम्बर चौथो साता सकिने गर्छ ।
अघिल्लो वर्ष अक्टोवर १६ मा मनसुन सकिएको थियो । तर यस वर्ष त्यसअघि नै मनसुन नेपालबाट विदा हुन लागेको हो । अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई नेपालमा मनसुन अवधि मानिन्छ । यस वर्ष मनसुन विगतभन्दा चाँडै निस्क्रिय हुने भएकाले दशैंमा पानी नपर्ने मौसमविद् रिमालले बताए ।
प्रतिकृया दिनुहॊस