एजेन्सी । सिरिया र टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ। टर्कीमा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन् । सिरियामा ५ हजार ८ सयले ज्यान गुमाएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन्।
टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल खानाको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ। टर्कीमा ८२ देशका ९ हजार ४६ विदेशी कर्मचारी विपद् क्षेत्रमा कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भूकम्पमा परेका ९ जनालाई एक हप्तापछि मंगलबार उद्धार गरिएको छ। टर्कीमा ढलेका भग्नावशेषमा फसेका ९ जनाको हिजो जिवितै उद्धार गरिएको हो। भूकम्प गएको ठाउँमा सरसफाइको कमीका कारण सङ्क्रामक रोग फैलिने डर रहेको डब्लुएचओले चेतावनी दिएको छ।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७।७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७।६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।




