नेपालमा अमेरिकी उच्चस्तरीय भ्रमण तीव्र

काठमाडौँ । नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र बनेको छ । सोमबार मात्रै अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री हुन् ।

एक महिनाबीच अमेरिकाबाट उनको यो तेस्रो उच्चस्तरीय भ्रमण हो । यसअघि अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएसएआईडी प्रमुख समान्था पावरले भ्रमणमा आएका थिए ।

अमेरिकी दूतावासका अनुसार उपसहायक विदेशमन्त्री अख्तरले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने कार्यक्रम छ । दुईदिने औपचारिक भ्रमण क्रममा उनले नेपाली सेना र सरकारी अधिकारीसँग पनि भेटघाट गर्नेछन् ।

‘जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्य, लोकतन्त्र, मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धि अगाडि बढाउने विषयमा छलफल गर्नुहुनेछ,’ दूतावासले भनेको छ ।

अर्को साता पनि अमेरिकाबाट भ्रमण हुँदै छ । यससँगै एक महिना अवधिमा लगातार चार भ्रमण हुनेछन् । अफ्रीन अख्तरको भ्रमणपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार नेपाल भ्रमणमा आउने भएकी छन् ।

एक महिना अवधिमै लगातार चार उच्च अधिकारीको काठमाडौं भ्रमण भएको यो पहिलोपटक हो । यसले नेपाललाई अमेरिकाले उच्च प्राथमिकतामा राखेर हेरेको विश्लेषकको अनुमान छ ।

कतिपयले ‘भूराजनीतिका’ कारण अमेरिकी भ्रमण बाक्लो भएको आशंका गरिरहेकै समय यूएएआईडीकै प्रमुख सामन्था पावरले नेपालमा अमेकिरी लगानी कुनै ‘भूराजनीतिक गतिशीलताको उपज नभएको’ बताएर आशंका मेटाइदिएकी थिइन् ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच २५ अप्रिल १९४७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । बेलायतपछि अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना गरेको नेपालले सन् १९५८ मै वासिङ्टन डीसीमा दूतावास स्थापना गरेको थियो । त्यसको एक वर्षपछि काठमाडौंमा अमेरिकी दूतावास खोलियो ।

त्यस्तै, अमेरिाका विभिन्न सहरमा नेपालका अवैतानिक महावाणिज्यदूत नियुक्त छन् । यसले नेपाल र अमेरिकी सम्बन्ध निकै पुरानो रहेको बुझाउँछ । पछिल्लो समय भने अमेरिकाले नेपालको विषयमा चासो बढाएको छ ।

नेपाललाई विकास सहायता प्रदान गर्ने अमेरिका पहिलो राष्ट्रसमेत हो । यातायात, सञ्चार, जनस्वास्थ्य, परिवार नियोजन, मलेरिया उन्मूलन, कृषि वन, ऊर्जालगायत क्षेत्रमा पाँच दशक लामो समयदेखि विकास सहायता गरेकाले पनि लगातार अमेरिकी भ्रमणलाई स्वाभाविक रूपमा विश्लेषण गरिएको छ । –राजधानी दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा मोटरसाइकल र स्कुटर ठोक्किए, एक युवकको मृत्यु

काठमाडौं  । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित सडकमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस