जनयुद्धको जगमा प्राप्त अधिकार र उपलब्धि राष्ट्रको साझा सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका छन् । जनयुद्धको २८ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्धको जगमास्थापितअधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो । यही यथार्थलाई दृष्टिगत गरी नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको बताउँदै साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवम् राष्ट्रियता प्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको जिकिर गरेका छन् ।

वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको उनको भनाई छ ।

उनले भनेका छन्, ‘महान् जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । समावेशी लोकतन्त्र संस्थागत भएको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारु समुदायलगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ । सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ । यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।’

उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् । त्यस्तै घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना पनि गरेका छन् ।

उनले देशको राजनीति र अर्थतन्त्रले संकटको सामना गरिरहेको परिस्थितिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको स्मरण गराएका छन् । उनले सहमति, सहकार्य र एकताका आधारमा राष्ट्रिय चुनौतीहरूलाई अवसरमा बदल्न सम्पूर्ण नेपालीमा सकारात्मक ऊर्जा र प्रेरणा पैदा होस् भन्ने कामना समेत गरेका छन् । २०५२ फागुन १ गतेबाट जनयुद्ध सुरु गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । …

प्रतिकृया दिनुहॊस