काठमाडाैँ । बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण चौधरीलाई प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो । उनलाई बिहीबार बाँकेबाट विमानमार्फत काठमाडौँ ल्याएर काठमाडौँबाट विमानमार्फत नै धनगढी पुर्याइएको थियो । बिहीबार चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीकी हिरासतमा रहे ।
जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई आज कैलाली जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए । उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो ।
स्थानीय महादेव बजगाईँको ट्र्याक्टरमा आगो लगाएको कसुरमा उनीलगायत ३ जना दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको छ । उक्त घटनामा सांसद अरुणका साथै पर्शुराम चौधरी, अरुण र वीर बहादुर चौधरीलाईसमेत अदालतले दोषी ठहर गरेको थियो । उनीहरूले ट्र्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्केर आगो लगाएका थिए ।
उक्त विषयमा जाहेरी परेपछि उनीहरू तीनैजना बयान दिन समेत अदालत नआएर फरार भएका थिए । तीनै जना प्रतिवादीहरूका नाममा अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।
२०६६ साल भदौ ३ गते कैलालीको चिसापानीस्थित गोरङ्गा खोलाबाट ढुंगा लिएर लम्की फर्किने क्रममा उनीहरूले ट्र्याक्टरमा आगजनी गरेका थिए । अदालतले ६ महिना कैद सुनाएपनि प्रहरीले उनीहरूलाई पक्राउ गरेर फैसला कार्यान्वयन गराएको थिएन ।




