सुपथ मूल्य पसल आजबाट, कुन खाद्यान्नमा कति छुट ?

काठमाडौं । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । विगत वर्षहरुमा दशैं-तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएकाे हो ।

सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएको छ । आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको तयारी छ ।

विभागका अनुसार, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान, विभागमा दर्ता भएका सहकारीले आफ्नै तरिकाले त्यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् । कतिपय स्थानमा भने विभागको नेतृत्वमा खाद्य, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानको संयुक्त पसल सञ्चालन हुँदैछ । यसरी सञ्चालन हुने सुपथ मूल्य पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट हुने विभागले जनाएको छ ।

साल्ट ट्रेडिङले उपत्यकाभित्र ९ स्थानमा स्टल र तीन घुम्ती पसल सञ्चालन गर्दैछ । उपत्यका बाहिरका आफ्ना २४ डीपो तथा कार्यालयबाट पनि उसले सामान बिक्री गर्ने प्रबन्ध मिलाएको छ । खाद्यले उपत्यकाका पाँच र देशभर रहेका आफ्ना सञ्जालहरुबाट खाद्य सामग्री वितरण गर्नेछ । विगत वर्षहरुमा खसी तथा च्यांग्रा बिक्री गर्ने गरेको खाद्यले यस वर्ष पनि त्यसलाई निरन्तरता दिनेछ । खसीबोकाको बिक्री भने घटस्थापनाबाट मात्रै शुरु हुने उसले जनाएको छ ।

दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनहरुमा छुटको व्यवस्था गरेको छ । उसले आफ्ना उत्पादनहरु बिक्री स्थलहरुबाट बिक्री हुने भएको जानकारी दिँदै लाभ लिन सबैमा आग्रह गरेको छ ।

कुन खाद्यान्नमा कति छुट ?
सहुलियत पसलमा दाल, चामल उद्योग तथा बिक्रेताले ३ प्रतिशत छुटमा दिनेछन् । त्यस्तै तेल र घ्यु उद्योगले बजार मूल्यभन्दा प्रतिलिटर ३ रुपैयाँ छुट दिनेछन् । आयातित तेलमा प्रति ५ लिटरमा १५० रुपैयाँ छुट हुनेछ । चिनी उद्योगले प्रतिकेजी ५७ मा चिनी उपलव्ध गराउने छन् । सहकारीहरुले उत्पादन गरेको मसलामा १० रुपैयाँ छुट हुने बताइएको छ ।

छुटपछि के मा कति मूल्य पर्छ ?
सोना मन्सुली चामल प्रतिकेजी ४५ बाट ५ रुपैयाँ छुट हुँदा ४० रुपैयाँ पर्नेछ । जिरा मसिनो चामल प्रतिकेजी ६० बाट ५ छुट भई प्रतिकेजी ५५, बास्मति चामल प्रतिकेजी ९१ बाट ८१ रुपैयाँ, गोरखनाथ चामल ४८ बाट ३८, जापनीज चामल ८० रुपैयाँ ७५ पैसाबाट ७५ रुपैयाँ ७५ पैसा पर्न जानेछ ।

जुम्ली सिमी १३० बाट १२०, तिते फापर ८० बाट ७० पर्ने बताइएको छ । खसीबोका पछि निर्धारण हुने मूल्यबाट प्रतिकेजी १० रुपैयाँ छुट पर्ने बताइएको छ । सरकारले खसीबोकाको मूल्य निर्धारण गरिसकेको छैन । त्यस्तै नुन प्रतिकेजी २० बाट २ रुपैयाँ छुट भई १८ रुपैयाँ, घ्यू प्रतिलिटर ९ सयबाट ८५० रुपैयाँ, पनिर ६२० बाट प्रतिकेजी ६१० रुपैयाँमा घटाएर किन्न पाइनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after