काठमाडाैं । २०७२ सालको भूकम्पपछि धेरै देशले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने घोषणा गरे पनि साढे ३ वर्षमा न्यून रकममात्र देशले पाएको छ । दाता राष्ट्रहरूले प्रतिबद्धता गरेअनुसार रकम उपलब्ध नगराउँदा पुनर्निर्माण प्रभावित भएको छ ।
सरकारले २०७२ असारमा गरेको नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा ४ खर्ब १० अर्ब भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको प्राधिकरण प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । उनका अनुसार ती दाता राष्ट्रले घोषणा गरेकोमध्ये ६७ अर्ब रुपैयाँ उद्धारमा खर्च भएको छ। प्रतिबद्धताअनुसार प्राप्त हुनु पर्ने ३ खर्ब ४३ अर्बमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भएको थियो ।
प्राधिकरणका योजना शाखाका उपसचिव चिरन्जीवी रानाले प्रतिबद्धताअनुसार दाताले रकम उपलब्ध नगराएको जानकारी दिए । अाजकाे अन्नपूर्ण पाेस्टमा सुरेन्द्र काफ्लेले खबर लेखेका छन् । अस्ट्रिया, बंगलादेश, पाकिस्तान, स्विट्जरल्यान्ड, श्रीलंका, नेदरल्यान्ड्स, नर्र्वे र स्विडनले सहयोगको घोषणा मात्र गरेका छन् । घोषणापछि उनीहरू सम्पर्कमा नै आएका छैनन् । प्रवक्ता घिमिरे दाता राष्ट्रबाट प्राप्त हुने सहयोगको विवरण प्राधिकरणले तयार पारिरहेको बताए ।
प्राधिकरणले पुनर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको छ । पुनर्निर्माणका लागि चालू आवमा १ खर्ब ५१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । भूकम्पबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण र पुनःस्थापनाका बाँकी काम गर्न करिब ६ खर्ब थप रकम लाग्ने प्राधिकरणले जनाएको छ । प्रवक्ता घिमिरेले चालू आवभित्र ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने जानकारी दिए ।
प्रतिकृया दिनुहॊस