पोखरा विमान दुर्घटना : ब्ल्याक बक्स सिङ्गापुर लगिने, ६ वटा शवको डीएनए परीक्षण

काठमाडौं । माघ १ गते पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९एन-एनसी विमानको ब्ल्याक बक्स परीक्षणका लागि सिङ्गापुर लगिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज दुुर्घटनाको प्राविधिक पक्ष विश्लेषण गर्न सिङ्गापुरको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरोमा लैजाने निर्णय भएको बताए । उनले भने, ‘दुर्घटनाका कारण पहिल्याउन महत्वपूर्ण मानिएको ब्ल्याक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका जाँचबुझ समितिको तीन सदस्यीय टोली शुक्रबार सिङ्गापुर जाँदै छ । परीक्षणका क्रममा फेला परेका तथ्यमा थप अध्ययन तथा विश्लेषण गरेर टोली एक हप्तामा नेपाल फर्किनेछ ।’

जाँचलाई थप प्रभावकारी बनाउन फ्रान्सबाट एटीआर विमान निर्माता कम्पनी र क्यानडाबाट विमानको इन्जिन निर्माता कम्पनीको टोलीसमेत सिङ्गापुर आउने उनले बताए । ब्ल्याक बस्कको परीक्षण गर्ने संसारभरका प्रयोगशालामध्ये सिङ्गापुर सरकारले स्थापना गरेको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरो विशेष सुविधासम्पन्न प्रयोगशाला रहेको उनले जानकारी दिए ।

यसअघि फ्रान्स, सिङ्गापुर वा बेलायत कुन देश पठाउने भन्नेबारे भएको छलफलबाट दुर्घटनाको स्वतन्त्र, सत्यतथ्य र प्रभावकारी अनुसन्धान तथा नजिकको प्रयोगशालाको आधारमा सिङ्गापुर लैजाने तयारी भएको उनले बताए । उनका अनुसार ब्ल्याक बस्कको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको नियमअनुसार परीक्षण हुनेछ ।

विमान दुर्घटनापछि फ्रान्सबाट नेपाल आएको एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय टोली प्रारम्भिक अध्ययन गरी फर्किसकेको छ ।छ जनाको पहिचान हुन बाँकीविमान दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी छ ।

काठमाडौं ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।अस्पतालका प्रवक्ता गोपालकुमार चौधरीले फरेन्सिक र फिङ्गर प्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको र छ जनाको शव ‘डीएनए’ परीक्षणबाट पहिचान गर्न लागिएको बताउनुभयो ।उहाँका अनुसार हालसम्म ६४ जनाको पहिचान भइसकेको छ ।

फेला परेका शवमध्ये ७० वटा शव र दुईवटा मानव अङ्गका पोका थिए । पोखरामा पहिचान भएकाको शव उतै हस्तान्तरण गरिएको थियो । मानव अङ्गका पोका फरक–फरक व्यक्ति वा एकै व्यक्तिका हुन् अथवा पहिचान भएकामध्येकै हो भन्नेबारे डीएनए परीक्षणको रिपोर्टबाट मात्र खुल्ने उनले बताए । पहिचान खुल्न नसकेका शवको नमुना परीक्षणका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको उनको भनाइ छ ।

डीएनए परीक्षणका लागि मृतकका परिवार तथा नातेदारको नमुना सङ्कलन गर्ने कार्य भइरहेकाले पहिचान हुन अझै एक महिना जति लाग्नेछ । उता दुर्घटनास्थलमा पनि नेपाली सेनाले खोजीकार्य जारी राखेको छ । सेनाका प्रवक्ता कष्णप्रसाद भण्डारीका अनुसार सबै शवको पहिचान भइनसकेका कारण खोजीकार्य जारी राखिएको हो ।

दुर्घटना भएको तेस्रो दिन घटनास्थलबाट डेढ किलोमिटर तल एक जनाको शव फेला परेकोले अझै एक जनाको हराइरहेको आशङ्कामा सेनाले खोजी जारी राखेको उनले बताए । खोजीकार्यमा गोताखोरसहित ड्रोनको प्रयोग हुँदै आएको छ । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार सातवटा शव फेला पारिएको थियो । दुर्घटनामा परेको विमानमा चालक दलका चार र ६८ जना यात्रु थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री