प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

काठमाडौँ । एमालेबाट उम्मेदवार बनेका देवराज घिमिरे सभामुखमा विजयी भएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको मत विभाजनमा घिमिरेको पक्षमा १६७ मत परेको थियो भने विपक्षमा १०० मत परेको थियो ।

मत दिन्न भन्ने पक्षमा एक मत परेको सभाको अध्यक्षता गरेका पशुपति शमशेर जबराले जानकारी दिएका छन् । मत विभाजनमा २६८ सांसदहरूले भाग लिएका थिए । घिमिरेलाई सत्ता साझेदार सातै दलको समर्थन प्राप्त रह्यो भने स्वतन्त्र सांसदहरूले पनि उनलाई मतदान गरेका थिए ।

घिमिरे नेपालको इतिहासमा प्रतिनिधिसभाका नवौँ सभामुख हुन् । यस अघि कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्तिमगर, कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए ।

घिमिरे सभामुखमा निर्वाचित भएकाले कांग्रेसबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव पेश गर्न आवश्यक नरहने व्यवस्था रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री