काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्षी दल तोक्न माग गरिएको छ । नेमकिपा का सांसद प्रेम सुवालले संघीय कानुनबमोजिम विपक्षी दल तोकेर मात्र संसद्का कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका हुन् ।
कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्ने आधार नभएको उनको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेस प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै सांसद सुवालले प्रतिपक्ष दल नतोकी संसद् बैठक सुरु नगर्न सदनको ध्यानाकर्षण गराए । अहिले आफ्नो दल नै सबैभन्दा ठूलो प्रतिपक्षी दल भएको उनको जिकिर छ ।
नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोकेर मात्र संसद्को बैठक सुरु गर्न पनि सांसद सुवालले सभाध्यक्षको ध्यानाकर्षण गराए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो राजनीतिक दल नेमकिपा हो त्यसैले प्रमुख प्रतिपक्ष दल नेमकिपालाई घोषित गरियोस्’ उनले भने ।



