काठमाडौँ । पुस १० गते मध्यान्हसम्म नेपाली राजनीतिमा ‘१०/१५ वर्ष चल्ने’ भनिएको तत्कालीन सत्ता गठबन्धन थियो । क्षणभरमै त्यो भत्किएर हठात् अर्को गठबन्धन बन्यो । अप्रत्याशित रूपमा नेकपा एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भए ।
नेपाली कांग्रेससँगको ‘प्री-इलेक्सन’ गठबन्धन छाडेर प्रचण्ड बालकोट (एमाले अध्यक्ष ओली निवास) पुगेपछि नेपाली राजनीति एकाएक तरंगित बनेको थियो । बालकोटमा बनेको ओली-प्रचण्डसहितको गठबन्धनले कांग्रेस नराम्ररी पछारियो । प्रतिनिधिसभाको पहिलो दल कांग्रेसको संघसहित अधिकांश प्रदेशमा सरकार बनाउने योजना क्षणभरमै भताभुंग भयो ।
सत्ताबाट एक्कासि प्रतिपक्षमा पुगेको कांग्रेसमा केही दिन सन्नाटा छायो । तर गत मंगलबार कांग्रेसले ‘युटर्न’ गरेर फेरि उहाँ नै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । त्यसपछि फेरि नेपाली राजनीतिको रंग फेरिएको छ । एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्ड पछिल्लो समय कांग्रेसप्रति नरम देखिन थालेका छन् । यसले गठबन्धन राजनीतिमा थप संशय उत्पन्न भएको छ ।
कांग्रेसको अप्रत्याशित विश्वास र प्रचण्डको नरम व्यवहारले गठबन्धनमा आबद्धहरूलाई शंकाको सुविधा मिलेको छ । कांग्रेसले बिनासर्त प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेपछि एमाले सशंकित छ । बिनासर्त प्रम प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र राष्ट्रपति निर्वाचनमा अड्डी लिने संकेत गरिसकेको छ । सभामुख/राष्ट्रपतिको निर्वाचनबारे दलहरूसँग छलफल गर्ने कांग्रेसको नीति छ ।
राष्ट्रपतिमा कांग्रेसले आकांक्षा राखेको कांग्रेस स्रोतले पुष्टि गरेको छ । ‘सभामुखभन्दा पनि हाम्रो चासो राष्ट्रपतिमा हो । प्रधानमन्त्रीले पनि राष्ट्रपति र सभामुखका लागि कांग्रेससँग छलफल गर्छु भनेर सञ्चारमाध्यममा भनिसक्नुभएको छ,’ स्रोतले भन्यो, ‘तत्कालीन अवस्थामा मत दिएर प्रचण्डप्रति विश्वास बढाउने काम भएको हो । त्यस्तो लिखित सहमति भएको होइन । मत दिएपछि स्वाभाविक रूपमा प्रधानमन्त्रीसँग हामीबाट आफ्नो दाबी रहने ठाउँ त रहन्छ नि !’



