यस पटक जति काम गर्छु, राम्रो मात्र गर्छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली हस्तकलाको मौलिक सीपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

नेपालको मौलिक सीपका रुपमा रहेको हस्तकला सीप आगामी पुस्तामा नजाने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको बेला प्रधानमन्त्रीले पुस्तान्तरणका लागि सरकारकातर्फबाट आवश्यक सहयोग रहने बताएका हुन् । नेपाल हस्तकला महासङ्घको ४२औँ साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने उल्लेख गरे ।

प्रधानमन्त्रीले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई थप विस्तार गर्दै आर्थिक विकासका लागि सहजीकरण गरिने बताए । ‘हस्तकला क्षेत्र नेपालका लागि अर्ग्यानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो’, प्रधानमन्त्रीले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने व्यापार घाटा कम गर्दै नेपाली मौलिकतालाई विश्वभर प्रचार र विस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्न प्रतिबद्ध छ ।’

प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवद्र्धन गर्नुपर्ने बताए । उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारी बिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन । मैले मन्त्रिपरिषदको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु । सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु ।’

‘यस पटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा म प्रतिबद्ध छु । यस पटक जति काम गर्छु, राम्रो मात्र गर्छु’, प्रधानमन्त्री दाहालले भने, ‘म तेस्रो पटक प्रधानमन्त्री भएको छु । यो मेरा लागि परीक्षा पनि हो । म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री