काठमाडौँ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पुरानै गठबन्धन ब्युँताउने प्रयास जारी राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत लिन सुविधाजनक बहुमत हुँदाहुँदै पनि मत दिएको नेपाली कांग्रेसले पुरानै गठबन्धन फर्काउने प्रयास गरिरहेको हो ।
प्रधानमन्त्रीसहित जिम्मेवार नेताहरूको अभिव्यक्तिका कारण वर्तमान सत्ता गठबन्धनमा आशंका बढिरहेको ठहर गरेको कांग्रेसले सभामुख चुनावमै पुरानो गठबन्धन ब्युँताउने दाउ खोजिरहेको छ । कांग्रेसले संसद्मा विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलका क्रममा प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनको आशयलाई अध्ययन गरिरहेको छ । जहाँ प्रचण्डले सत्तारूढ गठबन्धनमा थुप्रै विमति रहेको र सत्ताबाहिर रहेका दलहरूसँग विगतका सहमति कायम रहेको बताएका थिए ।
उनले गठबन्धनको मुख्य दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन ‘प्रतिगमन होइन’ भन्दै दिएको अभिव्यक्तिमा पनि जवाफ दिनुपरेको थियो । प्रचण्डले विघटनको विषय गठबन्धनभित्रको नभएको भनेर त्यसको जिम्मेवारी नलिने स्पष्ट संकेत गरिसकेछन् । प्रचण्डको संसद् विघटनको जिम्मा गठबन्धनले नलिने र गठबन्धनबाहिरका दलहरूसँग भएका सहमति कायमै रहेको भन्ने अभिव्यक्तिले कांग्रेसको प्रयासमा बल पुगेको छ ।
संसद् विघटनविरुद्ध तत्कालीन माओवादी केन्द्र, एमालेभित्रकै माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)सहितका पार्टीहरूको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । त्यहीबेला बनेको पाँचदलीय गठबन्धन यही पुस १० गते कांग्रेस सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन नमानेपछि भत्किएको थियो । सभापति देउवाले गठबन्धन भत्किनुमा आफ्नो गल्ती भएको स्वीकार गरिसकेको उनी निकटकै नेताहरूको दाबी छ ।




