काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लाभांश पारित भएको छ। काठमाडौंमा बिहीबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत लाभांश (नगद ७.५० प्रतिशत र ५ प्रतिशत बोनस सेयर) पारित गरेको हो।
त्यस्तै आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। साधारणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैयाँ नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैयाँबराबरको बोनस सेयर सेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ। यसपछि बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ हुनेछ।
बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए।
उनले बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिवृद्धि ल्याउन बिजनेस प्रोसेस रिइन्जिनियरिङ, सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढिकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको बताए।
साधारणसभामा बैंकका सेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीहरुको उपस्थिति रहेको थियो।
अध्यक्ष डा. पाठकले प्रस्तुत गरेको प्रतिवेदनमाथि सेयरधनीहरु डमरु वल्लभ घिमिरे, दामोदर प्रसाद रेग्मी, र रामगोपाल श्रेष्ठले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझावसहितको धारण राखेका थिए। सो टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले जवाफ दिएका थिए।
सो साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरु शम्भुप्रसाद मरासिनी, प्रा.डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती, दिलिपकुमार ढुङ्गाना, सुशिल घिमिरे, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, दुर्गा कँडेल छत्कुलीको उपस्थिति रहेको थियो ।
साधारण सभामा कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार महेश वराल, महालेखापरीक्षकको कार्यालयका निर्देशक कमल सिलवाल, बैंकका कानूनी सल्लाहकारहरु, बैंकभित्र क्रियाशील ट्रेड युनियका अध्यक्षहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । साधारणसभालाई कम्पनी सचिव हेमराज खरेलले सहजीकरण गरेका थिए।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।




