आज विश्वासको मत लिँदै प्रधानमन्त्री, पक्षमा कति सांसद ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

सो प्रयोजनका लागि समय तोकेको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले विश्वासको मत लिने सम्बन्धी सूचना हिजोको बैठकमा जानकारी गराएका थिए ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए। सोही अनुसार कार्यसूची तय भएको जबराले सदनलाई जानकारी गराएका थिए ।

प्रचण्ड माओवादी केन्द्र, एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । विश्वासको प्रस्ताव पारित हुन १ सय ३८ सांसद चाहिन्छ । प्रचण्डलाई प्रधानमन्त्रीमा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अन्य तीन स्वतन्त्र सांसद गरी १ सय ६९ जनाले समर्थन गरेका थिए । त्यहीअनुसार उनी पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

सत्ता गठबन्धनबाहिर रहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सक्ने स्रोतले बताएको छ । आफूलाई विश्वासका मत दिन भन्दै प्रधानमन्त्री प्रचण्डले हिजो साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसका लागि कांग्रेस पनि सकारात्मक रहेको बताइएको छ ।

उसले आज बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यसपछि कांग्रेसले निर्णय गर्ने संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बताए । गत पुस १० गते कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँगको गठबन्धनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस