काठमाडाैं । लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा दुबै बैंकका सञ्चालक समितिका सदस्य, प्रमुख सेयरधनी, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो। यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको छ।
संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन्।
दुबै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरीक्षकको नियुक्ति पनि गरिनेछ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रूपमा मर्जर प्रक्रिया सुरू हुनेछ। मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सम्पन्न हुने अपेक्षा बैंकले गरेको छ।
प्रतिकृया दिनुहॊस