काठमाडौं । पुस २५ गते बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । शुक्रबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले पहिलो बैठकमा दलका शीर्ष नेताहरूले बोल्ने कार्यतालिका तय गर्ने निर्णय गरेको हो ।
बैठकले दलीय आधारमा समय निर्धारण गरेर बोल्न दिने निर्णय गरेको छ । पहिलो बैठकलाई करिब दुई घण्टा समय निर्धारण गरेर दलको आकार अनुसार बोल्ने समय निर्धारण गरिने निर्णय भएको संघीय संसद् सचिवालयले जनाएको छ । बैठकमा कार्यव्यवस्था परामर्श समितिको चयन नभएसम्म बैठक सञ्चालन प्रक्रियाको बारेमा पनि छलफल भएको छ ।
शुक्रबार बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय गरेको छ । यस्तै, बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तय गरेको छ ।
प्रतिनिधिसभा नियमावलीमा भएका व्यवस्थाअनुसार बैठक सञ्चालन गर्ने निर्णय र आवश्यक भएका नियमावली संशोधनका लागि मस्यौदा समिति निर्माण गर्नेबारे पनि छलफल भएको छ । दोस्रो सर्वदलीय बैठक पुस २६ गते ११ बजे गर्ने तय भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बस्दै छ ।



