काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गरेको छ। अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता छ।
कार्यक्रमको शुभारम्भ पानसमा दीप प्रज्वलन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका छन्। साथै उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारे बताए।
उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित छन्। कम्पनीले पुस २३ गते आर्मी अफिसर क्लबमा करिब ८ सय जना अभिकर्ताहरुलाई प्रशिक्षण दिने तयारी गरेको छ।

कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन्। कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।
यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ। नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको कम्पनीले जनाएको छ।




