काठमाडाैँ । गठबन्धन भत्किएर कांग्रेसले मुखैको सत्ता गुमाएपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महतबीच चर्काचर्की भएको चर्चाको एक हप्तापछि सो विषयमा खड्काले मुख खोलेका छन् ।
गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा खड्का र महतबीच चर्काचर्की भएको समाचारहरू आएका थिए । सो विषयमा उपसभापति खड्काले शनिबार दिउसो ट्वीट गर्दै प्रष्टीकरण दिएका छन् ।
उनले त्यस दिन आफूमाथि डा. महतले झमुटेको र हातपातको कोसिस गरेको भन्ने समाचार झुटो भएको दाबी गरेका छन् । उनले त्यसदिन केही मुद्दामा फरक तरिकाको बहस मात्र भएको दाबी गरेका छन् ।
उनले ट्वीट गरेका छन्, ‘बालुवाटारमा पार्टी प्रवक्ता डा प्रकासशरण महतले मलाई झम्टेको, हातपात गर्न कोसिस गरेको भनी संचारमाध्यम र सामाजिक सञ्जालमा केही दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकार्षण भएको छ । यो कुरा सत्य होइन । केही मुद्दामा फरक तरिकाको बहस हामी साथीहरूका बीच भएको मात्र हो ।’
उपसभापति खड्काले फरक तरिकाको बहस भएको बताए पनि त्यो के बहस थियो भन्नेबारे केही खुलाएका छैनन् ।




