काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहान भेटेलगत्तै गृहमन्त्री रवि लामिछाने ओली निवास बालकोट पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग छलफल गरे लगतै एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका हुन् ।
ओली र लामिछानेबीच सरकारका नीति तथा कार्यक्रम, प्रधानमन्त्रीको विश्वासको मत, मन्त्रीमण्डल विस्तार र शक्ति बाँडफाँडको विषयमा छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच शनिबार बिहान समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्री लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच कसरी पुर्याउन सकिन्छ, सरकारका काम कारबाही प्रभावकारी ढंगले कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग छलफल गरेका छन् । सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीति, शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको विषयमा प्रचण्ड-ओली र लामिछानेबीच निरन्तर संवाद भइरहेको छ ।
नयाँ सत्ता गठबन्धनमा एमाले पहिलो, माओवादी दोस्रो र रास्वपा तेस्रो दल हो । प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको पहिलो बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाउने निर्णय गरेको थियो । उक्त संयन्त्रमा नयाँ सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताहरू रहने छन् ।




