सुकीलाई थप सात वर्षको जेल, सजाय अवधि ३३ वर्ष पुग्यो

एजेन्सी । म्यानमारको सैन्य अदालतले आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । योसँगै उनलाई तोकिएको जेल अवधि ३३ वर्ष पुगेको छ ।

देशको पूर्व प्रजातान्त्रिक रूपमा निर्वाचित नेतृ सुकीलाई फेब्रुअरी २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि घरमै नजरबन्दमा राखेको छ । त्यसबेलादेखि उनले १९ आरोपहरूमा १८ महिनाको कानूनी सोधपुछको सामना गरिरहेकी छिन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले गत हप्ता उनलाई रिहा गर्न आह्वान गरेको थियो ।

शुक्रबार उनलाई अन्तिम पाँच आरोपमा सजाय सुनाइएको थियो । सरकारी मन्त्रीका लागि हेलिकप्टर भाडामा लिँदा नियम पालना नगरेको भन्दै अदालतले उनलाई भ्रष्टाचार गरेको ठहर गरेको थियो । उनलाई पहिले नै कोभिड सार्वजनिक सुरक्षा नियमहरू उल्लङ्घन गर्ने, वाकी–टकीहरू आयात गर्ने र आधिकारिक गोप्य ऐन उल्लङ्घन सहितका विभिन्न १४ अपराधहरूमा दोषी ठहर गराइएको छ ।

यस वर्ष उनको कानूनी छानबिन बन्द ढोका पछाडि गरिएको छ जहाँ जनता र मिडियालाई पहुँचमा रोक लगाइएको छ र उनका वकिलहरूलाई पनि पत्रकारहरूसँग बोल्न प्रतिबन्ध लगाइएको छ । उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेकी छिन् ।

७७ वर्षीया नोबेल पुरस्कार विजेताले आफ्नो अधिकांश समय राजधानी नेपी तावमा नजरबन्दमा बिताएकी छिन् । सुकी र उनको पार्टीका धेरै सदस्यहरू जन्टाले सत्ता कब्जा गरेदेखि राजनीतिक कैदीहरूको रिहाईको माग गर्ने क्रममा पक्राउ परेका १६ हजार जना र जेलमा रहेका १३ हजार जनामध्ये रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री