काठमाडौं । कम्बोडियाको पोइपेट शहरको क्यासिनो होटलमा आगलागी हुँदा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बिर्तामोडाका ४० वर्षीय निराकर पाण्डे रहेका छन् । ग्राण्ड डायमण्ड सिटी क्यासिनोमा कार्यरत रहेका पाण्डेको आगोबाट बच्न क्यासिनको १२ तलाबाट हाम फाल्दा मृत्यु भएको हो ।
भवनमा आगलागी हुँदा उनीसहित २४ जनाको मृत्यु भएको छ । क्यासिनोबाट हाम फाल्नुअघि पाण्डेले डेढ घण्टा परिवारका सदस्यहरुसँग कुराकानी गरेका थिए । भिडियोमा पाण्डेले कुरा गर्दागर्दै कोठामा धुँवा भरिएको देख्न सकिन्छ ।
होटल परिसरमा दमकलको साइरन पनि सुनिन्छ । पाण्डे एक महिनाअघि कम्बोडिया पुगेको जनाइएको छ । उनी यसअघि पनि करिब ३ महिना कम्बोडियामा बसेर नेपाल फर्किएका थिए ।
उक्त क्यासिनोका सबै कोठाका ढोकाहरूमा विद्युतीय प्रणाली जडान गरेकाले आगलागी भएपछि विद्युत् अवरुद्ध भएको र कोठामा रहेका मानिस त्यहाँबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृत्यु भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका उक्त आगलागीका अन्य भिडियोहरूमा होटलको भवनमाथिबाट हामफाल्दै गरेको दृश्यहरू समेत देखिएको छ ।




