काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु लागेको छ ।
दिउँसो प्रदेश-१ र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ । प्रदेश-१ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति भने प्रदेश-१ र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमाली भू-भागमा हिमपात र तराईका केही भू-भागमा हुस्सु लाग्दा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




