यी हुन् इन्फोडेभलपर्स आइसिटी अवार्ड-२०२२ का विजेता

काठमाडौं । सूचना तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने लक्ष्यका साथ लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको ग्रान्ड फिनाले सम्पन्न भएको छ । समारोहमा १४ विधामा अवार्ड प्रदान गर्दै सातौं संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो ।

यस वर्ष अवार्डका लागि पाँच सय ५० बढीको अनलाइन आवेदन प्राप्त भएको अवार्डका संयोजक राजन लम्सालले जानकारी दिए । त्यसका लागि झन्डै पाँच महिनासम्म छनोट प्रक्रिया सञ्चालन गरिएको थियो । यस वर्ष १४ विधामा आइसिटी अवार्ड प्रदान गरिएको छ भने सातै प्रदेशका उत्कृष्ट सात स्टार्टअपलाई समेत सम्मान र प्रमाणपत्र गरिएको छ ।

यस वर्षको हुवावे स्टार्टअप आइसिटी अवार्ड मोनाल टेकलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आइसिटी अवार्ड गल्ली म्याप्सलाई र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड कारोबार एपलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोटपश्चात् पब्लिक भोटिङसमेत गरिएको कार्यक्रममा जानकारी दिइयो ।

त्यस्तै व्यक्तिलाई प्रदान गरिने इन्टरप्रेनर आइसिटी अवार्ड मङ्गेशलाल श्रेष्ठ, नेपाली डायस्पोरा आइसिटी अवार्ड डा.वेद काफ्ले, नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड विजयकृष्ण श्रेष्ठ र एनसेल वुमन आइकन आइसिटी अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ ।

संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेसन आइसिटी अवार्ड ९पब्लिक सेक्टर० बाफलको ज्ञानोदय मावि, डिजिटल एजुकेसन आइसिटी अवार्ड ९निजी क्षेत्र ० खोकनाको ज्ञानोदय बालवाटिका स्कुल, डिजिटल सर्भिसेस आइसिटी अवार्ड फोनपे र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड वैदेशिक रोजगार विभागलाई दिइएको छ ।

यस्तै सबैभन्दा बढी पब्लिक भोट ल्याउने ‘टिग’लाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिएको छ भने साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड चिङ्गारीलाई प्रदान गरिएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० राष्ट्रका ५० बढी स्टार्टअपको प्रतिस्पर्धाबाट चिङ्गारीले अवार्ड हात पारेको हो ।

कार्यक्रमको महत्वका बारेमा जानकारी दिँदै आइसिटी अवार्ड संयोजक लम्सालले नेपालमा डिजिटल इकोसिस्टम विकास गर्न विगत सात वर्षदेखि अवार्ड आयोजना गरिरहेका बताए । समारोहमा सहभागि काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्नुपर्ने बताइन् ।
कार्यक्रममा मुख्यसचिव शङ्करदास बैरागीले आइसिटीको क्षेत्रमा केही फड्को मारेको भए पनि नेपालले गर्नुपर्ने कामका धेरै क्षेत्र रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले आइसिटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए ।

सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअप
गत चैत देखि जेठसम्म लिभिङ विथ आइसिटीले सातै प्रदेशममा स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना गरेको थियो । देशैभरका स्टार्टअप तथा आइडियालाई प्रवद्र्धन र प्रोत्साहन गर्न आयोजना भएको उक्त कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप छनोट गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

छनोट भएका स्टार्टअप तथा आइडियालाई काठमाडौं ल्याएर तीनदिने विशेष कार्यक्रम सञ्चालन गरिएको थियो भने नेपालका केही ठूला आइटी कम्पनीको भ्रमण पनि गराइएको थियो । सातै प्रदेशबाट छनोट भएका ३५ बढी स्टार्टअप र आइडियामध्येबाट प्रत्येक प्रदेशका सर्वोत्कृष्ट छनोट गरिएको छ ।

यसअनुसार प्रदेश १ बाट क्युरा हेल्थ, मधेस प्रदेशबाट इजिइट्स, बागमती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक ग्रुप ९स्वस्तिक न्युट्री फुड०, लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथीभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपका रूपमा सम्मान गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री